काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन् ।
करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भएपनि बजेटको सिलिङ घटाउनु नहुने उनको भनाई थियो । पौडेलले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए ।
उनले भने,“बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायराहरुलाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरुले अरु देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडी बढाएको हामी पाउँछौँ । डराउनु हुँदैन ।”
सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई, दुईवटा भएपनि राम्रो काम अगाडी बढाउनुपर्ने बताए । उनले ठुला ठुला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभुत गर्नेखालका काम हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्