बढ्यो विदेशी विनिमय सञ्चिती, ११ महिनाको वस्तु आयात धान्ने


काठमाडौँ । एघार महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिती रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९ ८० को ९ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बैंकिङ् क्षेत्रसँग ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न विदेशी विनिमय सञ्चिती रहेको पर्याप्त रहेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ चैत मसान्तसम्म रु. १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा चैतमसान्तमा १७.९ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यो सञ्चिती ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भएर १० अर्ब ९४ करोड कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०७९ असार मसान्तमा रु. १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भएर रु.१२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ५९ अर्ब ७४ करोड पुगेको छ ।

२०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।