मन्त्री रिजाल र अमेरिकी राजदूतबिच शिष्टाचार भेट


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले  शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको जनाइएको छ। भेटमा मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताए ।

आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे । नेपाल र अमेरिकाबिच वर्षौदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरेका छन् ।

नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूत डिन आर थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार सदैब तयार रहेको स्पष्ट पारे ।

पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने तर्फ मध्ये नजर गर्न जोड दिदै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग प्रति आभार व्यक्त गरेको जनाइएको छ ।

अमेरिकाबाट प्राप्त विकास सहायताले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै मन्त्री रिजालले आगामी मे मा काठमाडौँमा हुने टिफा काउन्सिलको छैटौ बैठक द्विपक्षीय ब्यापार तथा लगानी प्रवर्दनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरेका छन् ।    

भेटका क्रममा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा समेत नेपाल व्यापार प्राथमिकता कार्य्रक्रम जस्तो कार्य्रक्रमलाई अमेरिकाले कुनै न कुनै रुपमा निरन्तरता दिनको लागि अमेरिकी राजदूत थम्पसन मार्फत अमेरिकी सरकारसँग आग्रह गरेका छन् ।

त्यसैगरी सुचना, संचार तथा प्रविधि, उर्जा र कृषि लगायतका क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको बताउँदै मन्त्री रिजालले लगानी बढाउन र विविधिकरण गर्नको लागि अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने अपेक्षा ब्यक्त गरे ।

भेटमा  अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताए ।  लगानीको वातावरण थप सुदृढ गराउन जोड दिदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाएका छन् ।