दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आज भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उल्लेख गरे ।

सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको बताए ।

नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको उल्लेख गर्दै उनले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,“विकास लक्ष्यहरू हासिल गर्ने हाम्रो प्रयासमा, हामीले महत्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौं। यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन्। साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न हाम्रा प्रयासहरूसँग मिल्न हामीलाई निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी चाहिन्छ।”

नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

उनले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको बताए ।