‘जथाभावी रुपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न हुँदैन’


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रुपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न नहुने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट परिभाषा तय गरेर मात्रै नामाकरण गर्न उपयुक्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

संघीय संसद राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा आज बसेको बैठकमा बोल्दै उनले मन्त्री,प्रधानमन्त्रीलाई लाग्ने वित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने बताए ।

सयौंको संख्यामा कुनै पनि देशमा राष्ट्रिय गौरवको आयोजना हुनै नसक्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले ‘जति थोरै हुन्छ, त्यो गौरवको हुन्छ’ भन्ने मान्यताका साथ अघि बढन पनि सरकारलाई सुझाव दिए ।

राष्ट्रिय गौरवको आयोजनाको परिभाषालाई सरकारले थप व्याख्या गरेर अघि बढनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष तिमिल्सिनाले भने,“ अहिलेको अर्थमन्त्रीलाई लाग्यो कि कुनै योजना यो राष्ट्रिय गौरवको आयोजना हो भनेर लेख्नु भयो । वर्तमान प्रधानमन्त्रीले यो पनि राखौं भन्यो । र, राख्यो । फेरी फेरिनु हुन्छ । उहाँलाई अर्को लाग्छ । राष्ट्रिय गौरवको पहिला परिभाषा हुनु प¥यो। हाम्रो क्षमता, परिस्थिति, अवस्था अनुसार निश्चित परिभाषा भित्र पर्ने हुनुपर्‍यो ।”

अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम पूरा नहुँदासम्म जिम्मेवारी पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले विकास, निर्माणको काममा सकेसम्म स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।