अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री वाट्स दुई दिने भ्रमणका लागि नेपालमा


काठमाडाैँ । दुई दिने भ्रमणका क्रममा अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स, एमपी मंगलबार काठमाडाैँ आएका छन् । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको गहिरीँदो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरुको बारेमा चर्चा हुने अष्ट्रेलियन दुतावासले जनाएकाे छ ।

सहायक मन्त्री वाट्सले डा. सन्दुक रुईत र अष्ट्रेलियाली डा. फ्रेड हलोजको सहकार्यमा स्थापित आँखा स्वास्थ्यको उत्कृष्ट केन्द्रका रुपमा परिचित तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गरेका छन् । विगत ३० वर्षदेखि अष्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ । साथै उक्त सहयताबाट नेपालमा र अन्तराष्ट्रिय स्तरमा वितरण हुने ‘ईन्ट्रा अकुलर लेन्स’ उत्पादन गर्ने कारखाना स्थापना भएको छ ।

सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्प कमल दाहाल र परराष्ट्रमन्त्री नारायण प्रकाश साउद संग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएकाे छ । उनले भेटहरुमा अष्ट्रेलियासंगको सहकार्य, ६३ बर्ष भन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धहरुको चर्चा गर्ने जनाइएकाे छ ।

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रुपमा ई.सं. १३औं शताव्दीको पाटनको सुलीम टोल स्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन संग्राहालयमा आयोजना हुने कार्यक्रममा सहायक मन्त्री वाट्स सहभागी हुनेछन् । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक डा. माईकल ब्राण्डले टुँडाल हस्तान्तरण गर्ने छन् ।

काठमाण्डाैँ विश्वविद्यालयमा सहायक मन्त्री वाट्सले हाल अष्ट्रेलियाली संस्थाहरुसंग भईरहेको सहकार्य र खानी उत्खनन्, हरित हाईड्रोजन ईन्धन सम्बन्धी अनुसन्धान र हुनसक्ने सहकार्यका बारेमा जानकारी लिने छन् ।

सहायक मन्त्री वाट्सले बनेपा स्थित बायोभ्याक कम्पनीमा अत्याधुनीक निदानात्मक परिक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अष्ट्रेलियाबाट भएको प्रविधी हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यका बारेमा समेत जानकारी लिने कार्यक्रम छ ।

सहायक मन्त्री वाट्सले अष्ट्रेलियाका हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेका र उनीहरुको सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ मन्दिर र बौद्धनाथ परिसको पनि भ्रमण गर्ने कार्यक्रम छ ।