नेप्सेमा २३ अंकको सुधार, लगानीकर्ताको आर्कषण शिवम् सिमेन्ट


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको बजारमा हिजो ३ अंकले वृद्धि भएको थियो ।

बजार बढेसँगै नेप्से बाउन्स ब्याक हुने भन्दै आशावादी रहेका लगानीकर्ताको मनोबल उच्च देखिएको छ ।

आज लगानीकर्ताको आर्कषण शिवम् सिमेन्टमा देखिएको छ । आज शिवम् सिमेन्टको १ लाख ३६ हजार १ सय १० कित्ता सेयर कारोबार भएको छ ।

सेयरबजारलाई प्रभाव पार्ने केही नीतिगत सुधार नभए बजार १८ सय भन्दा तल नझर्ने लगानीकर्ताहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २३.३९ अंकले बढेर १८४५.०१ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको परिसूचक सेन्सेटिभ परिसूचकपनि ४ अंकले बढेर ३५२.९४ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५ करोड ४६ लाख ५८ हजार ६ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन माई खोला हाइडोपावर लिमिटेडका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९३ प्रतिशतले घटेको छ ।

कुल २६६ कम्पनीको २५ लाख ७७ हजार २ सय १० कित्ता सेयर किनबेचहुँदा ८५ करोड ७६ लाख २४ हजार ३ सय १८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।