पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु बस्नेत


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु वस्नेत (अजित) चयन भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम बस्नेतलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् ।

यसअघि महासंघको एनआरएन तथा द्धिराष्ट्रिय फोरमका सभापति थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गरी विदेशी पर्यटक भित्राएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए ।

साथै महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने समेत ढकालको विश्वास रहेको छ ।

नेपालमा स्टार स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउन लागेका बस्नेतले पर्यटन प्रवद्र्धनका लागि होटलका विभिन्नि विश्वप्रशिद्ध ब्राण्ड भित्राएका छन् ।

बस्नेतले काठमाडौं र इटहरीमा एकै पटक सञ्चालनमा ल्याउने गरी २ ओटा पाँच तारे होटलको निर्माणकार्य अन्तिम चरणमा पुर्‍याएका छन् ।

उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका बताए ।

पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन् । साथै उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् ।

एवी होल्डिङ्सका अध्यक्ष रहेका वस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।