काठमाडौं । केही समयदेखि निरन्तर घटेको सेयरबजार यो साताको कारोबारको तेस्रो दिन मंगलबारबाट सकरात्मक बनेको छ । मंगलबार झिनो अंकले बढेको नेप्से परिसूचक हिजो बुधबार भने २३ अंकले वृद्धि भएको थियो ।
साताको कारोबारको चौथो दिन बिहीबार पनि नेप्से परिसूचक ३१ अंकले बढेको छ । कारोबार रकममा पनि सुधार हुँदै गएको छ । दैनिक ५० करोडको हाराहारीमा आएको बजार बिहीबार झण्डै डेढ अर्ब रुपैयाँको कारोबार भएको छ ।
नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक नजिकिँदै गर्दा पनि लगानीकर्ताहरुको मनोबल उच्च बनेको सेयरबजारका जानकारहरु बताउँछन् । सेयरबजारलाई सूचनाले प्रभावित हुने हुँदा बजारमा कस्तो खालको सूचना प्रवाह भइरहेको छ भन्ने कुरामा पनि निर्भर हुने उनीहरुको भनाई छ ।
पछिल्लो समय गर्भनर महा प्रसाद अधिकारीले आगामी दिनमा बैंकको व्याजदर अझै घट्ने संकेत गरेकोले पनि लगानीकर्ताको मनोबल वृद्धि भएको देखिन्छ । बजार अब लयमै फर्किन थालेको भनेर भन्ने स्थिति अझै नरहेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।
बजार फर्किनलाई नीति त्यै अनुरुप आउनुपर्यो सरकार पनि सकरात्मक बन्नु पर्यो अध्यक्ष पोख्रेल भन्छिन, ‘हिजो हामीले प्रधानमन्त्रीलाई भेटेका छौ उहाँ सकरात्मक हुनुभएको छ, हामीलाई आश्वासन समेत दिनुभएको छ । हामीले राखेका मागहरु केहि समयका लागि मात्र रोकिएको हो पछि सम्बोधन हुन्छ भनेर भन्नु भएको छ ।’
अब आउने बजेटमा पहिलेको जस्तै पुरानो कुरा जस्ताको त्यस्तै आउने हो भने बजारमा सुधार आउँछ भन्न नसकिने पोख्रेलको भनाई छ । उनका अनुसार बजेटबाट केही नीतिगत व्यवस्था भयो, तरलता सहज भयो, व्याजदर घट्यो भने बजार राम्रो हुन्छ तर १००, २०० अंक तलमाथि हुँदैमा बजार लयमा फर्किएको भन्न सकिँदैन ।
‘बजार परिपक्क ह्ँदै जानको लागि त पहिला नीतिगत सुधार हुन आवश्यक छ नि त्यसैले यसै के हुन्छ भन्न सकिदैन ।’ पोख्रेलले भनिन् भोली जेठ ५ गते सार्वजनिक हुने नीति तथा कार्यक्रम र र आगामी बजेट कस्तो आउला भन्ने चासो आम लगानीकर्तामा रहेको छ ।
विगत २० महिना देखिको लामो वियरिस खेपेका लगानीकर्ता सरकारले बजेट मार्फत पुँजीबजारलाई सम्बोधन गर्छ भन्ने विश्वस्त छन् । प्रधानमन्त्री, अर्थमन्त्री पुँजीबजारप्रति सकरात्मक देखिएकोले लगानीकर्ताका बजार बढ्ने आशमा सेयर खरिद गर्न थालेको जानकारहरु बताउँछन् ।
प्राविधिक विश्लेषण गर्दा नेप्से परिसूचकको बटम लाई १८ सय अंकमै रहेको हुनाले बजार अब नघट्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बताउँछन् ।
नेप्से परिसूचक १८०६ अंकलाई बटम लाइन मानेका लगानीकर्ताले सेयर बिक्री गर्न छोडेर खरिद गर्न थालेको उनको भनाई छ ।
लम्सालका अनुसार सेयर बिक्री कम हुँदा नेप्से परिसूचक तल्लो विन्दुमा आइसेको हुनाले अब बजार बाउन्स ब्याक हुने अपेक्षा गरेर लगानीकर्ताले सेयर खरिद गर्न सुरु गर्दा बजारमा उत्साह देखिएको हो ।
“सेयरबजारको भविश्य बैंकको व्याजदरसँग जोडिएको हुन्छ,” लम्साल भन्छन्, “जब बैंकको व्याजदर बढ्छ बजार घट्छ जब व्याजदर घट्छ बजार बढ्छ त्यस्तै अहिले हामीले १५, १६ प्रतिशतमा लिएको कर्जाको व्याजदर एक डेढ प्रतिशतका दरले घट्दै आएको छ, बैंक दर घटेको हुनाले यसको प्रभाव बजारमा देखिन थालेको हो ।”
प्रधानमन्त्रीलाई भेट्दा ‘लगानी मैत्री नीति तथा कार्यक्रम ल्याउँछौ, बजेटमा पनि पुँजीबजारलाई समेट्छौं, तपाईहरु ढुक्क हुनुहोस् हामी सेयरबजार मैत्री बजेट ल्याउँछौ’ भनेकाले पनि लगानीकर्ता आश्वस्त रहेकाे भनाइ लम्सालकाे छ ।
राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ऋणीलाई राहात दिँदै कर्जाको पुनःतालिकीकरणको सुविधा ल्याउँदा बैंकहरुको खराब कर्जा पनि नियन्त्रण हुने देखिएकोले त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव सेयर बजारमा पर्ने अपेक्षा गरिएकाे हाे।
बढ्दो बजारमा दोस्रो बजार प्रवेश गरेका नयाँ लगानीकर्ताहरु विषेश गरि मारमा परेका छन् । ३२ सयको उच्च विन्दुमा नेप्से परिसूचक रहेका बेला बजार प्रवेश गरेका लगानीकर्ता बजारबाट निक्लिन नसक्दा अहिले डिप्रेशनमा गएको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्