छैटौं नेपाल-अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल बैठक शुरु


काठमाडौँ । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल बैठक शुरु भएको छ ।

आजदेखि काठमाडौमा सुरु भएको बैठकले अमेरिका र नेपालबच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको छ ।

बैठकका बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीको रुपमा रुपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न बैठक बसेको बताए ।

उनले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको जानकारी दिए ।

सचिव मरासिनीले नेपाल र अमेरिकाबिच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको बताए ।

उनले बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने जानकारी दिए ।

बैठक सम्भावना र समस्याको खोजि गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल गर्ने उनको भनाई थियो ।

सचिव मरासिनीले भने,“ अमेरिका र नेपालबीच लामो सम्बन्ध छ, यो द्विपक्षीय सम्बन्धलाई लगानीको रुपमा रुपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न नेपाल र अमेरिकाबीचको एउटा नेपाल अकेरिका ट्रेड इन्भेष्टमेण्ट एग्रिमेण्ट भन्ने गरेको हो । १८ जनाको टोली अमेरिकाबाट आउनुभएको छ । नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने र हाम्रो उदार अर्थतन्त्र छ, जुन अहिले आवश्यक लगानीको आवश्यक्ता छ, प्रविधि हस्तान्तरण होस्, नलेज हस्तान्तरण होस् भन्ने अपेक्षा छ, त्यसमा छलफल गर्नेछौँ । ”

सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसावले लगानी भित्राउन खोजेको बताए । अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गरे ।