मेयर बालेनको निर्देशन: १० प्रतिशत शैया विपन्न असहायलाई छुट्याएर नि:शुल्क उपचार गराउनु


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका अस्पताललाई कुल शैयाको १० प्रतिशत शैया विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई छुट्याएर निशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

महानगरको स्वास्थ्य विभागले अस्पताल तथा अन्य स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन एक सुचना जारी गर्दै स्वास्थ्य सम्बन्धी ऐन, कानुन र मापदण्डहरू पूर्ण कार्यान्वयन गराउन निर्देशन दिएको हो ।

‘अस्पतालले दिने सेवा सुविधाहरूको गुणस्तरीयताको बारेमा तोकिएको मापदण्डले प्रस्ट व्यवस्था गरेको सवैमा विदितै छ,’ सुचनामा उल्लेख छ, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ।’

महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन निर्देशन दिएको छ ।

अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस्नसमेत आग्रह गरेको छ । महानगरले प्रत्येक महिनाको १० गतेसम्म विवरण नबुझाएमा नियमानुसार कारवाही हुने महानगरले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार समेत स्थानीय तहलाई दिइएकाे छ ।