नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला


काठमाडाैँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् । 

सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्वालाले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए ।

उनले अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खु-भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे । मन्त्री ज्वालाले अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने विश्वास दिलाए ।

उनले यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाए । आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको मन्त्री ज्वालाकाे भनाइ थियाे । 

उनले भने, “ म आउने बित्तिकै हाम्रो टिम बसेर यो सडकलाई चर्चामुक्त गरेर, चर्चामुक्त भनेको धुलो मुक्त गर्नु हो । त्यसका लागि छिटो भन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था थियो । हामीले निरीक्षण गर्ने कुरामा हतार देखाएनौँ, हामीले मन्त्रालयबाट मातहतका निकायलाई निर्देशन गरेका थियौँ । सक्रियताकासाथ काम अहिले अघि बढेको छ । केही दिनमा मुल कामहरु सकिन्छ । जेठ महिना भित्र काम पूरा हुने अवस्था छ ।”

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिवद्धता जनाए । उनले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताए ।