सहकारी क्षेत्र समस्यामा पर्दा सरकार बेखबर भयो :सांसद ढकाल


काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारको तीन खम्बे अर्थनीतिको रूपमा रहेको सहकारी क्षेत्र समस्यामा पर्दा सरकार बेखबर रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै ढकालले सहकारीबाट ठगिएका जनताहरू सडकमा न्याय खोज्दै हिडदा पनि वेवास्ता गरेर समाजमा आर्थिक अराजकता निम्ताएको बताएका हुन् ।

उनले भने, “ २८ हजार सहकारीमा ७३ लाख सदस्यहरू क्रियाशिल रहेका छन् । २५ प्रतिशत कुल वित्तीय क्षेत्रमा योगदान रहेको सहकारी क्षेत्र अस्तव्यस्त रहेको छ । शिव शिखर सहकारीले १ लाख निक्षेपकर्ताको १४ अर्ब, चितवनामा १३ हजार निक्षेपकर्ताको १ अर्ब, पोखरामा ७२ सय निक्षेपकर्ताको ५३ करोड, बाग्लुङमा २१ सय निक्षेपकर्ताको ८ करोड, डोटीमा ११ सय निक्षेपकर्ताकाे ६ करोड निक्षेप हिनाबिना गरि संचालकहरू फरार रहेका छन् । तर सरकार बेखबर रहेको छ ।’’

उनले सरकारको तीन खम्बे अर्थनीतिमा रहेको सहकारी क्षेत्र समस्यामा पर्दा अर्थतन्त्र समस्यामा पर्ने बताए ।