४४ सार्वजनिक संस्थामध्ये २५ वटा मात्रै नाफामा


काठमाडौं । नेपाल सरकारको सार्वजनिक लगानीमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेका छन् ।

आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९/ ८०को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले २५ वटा सार्वजनिक संस्थान मात्रै नाफामा रहेको बताएका हुन् ।

अर्थमन्त्री महतले त्यस्तै सार्वजनिक संस्थाममा नेपाल सरकारको लगानी ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको बताए ।

त्यस्तै उनले सार्वजनिक संस्थानहरुबाट नेपाल सरकारले आर्थिक वर्ष २०७८/ ७९ मा ६ अर्ब १६ करोड अर्थात लगानीको १ प्रतिशत लाभांश प्राप्त गरेको बताए ।

कोषमा व्यवस्था नभएकोको दायित्व(अनफण्डेड लायविलिटी) २०.३ प्रतिशतले घटेको अर्थमन्त्री महतले भने ‘सार्वजनिक संस्थाको कुल संचालन आय ३६.२ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ७५ अर्ब पुगेको छ ।’

प्रभावकारी रुपमा संचालन हुन नसकेका तथा सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नरहेका संस्थानको पहिचान गरि थप पुँजी प्रविधि र सक्षम व्यवस्थापन सहित निजी क्षेत्रबाट सञ्चालित गर्नुपर्ने अर्थमन्त्री महतको भनाई छ ।

उनले नीजिकरण गरिने र गरिएका सरकारी स्वामित्वमा रहेका सर्वाजनिक संस्थाको अनुमगन, मुल्यांकन गरि नियमित सुधार गर्दै जानुपर्ने देखिएको बताए ।