वैदेशिक रोजगारीमा गएका ७ सय ८९ जना नेपाली कामदारले गुमाए ज्यान


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म वैदेशिक रोजगारीमा गएका ७ सय ८९ जना नेपाली कामदारको मृत्यु भएको छ । आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रोजगारको सिलसिलामा गएका ७ सय ८९ जनाको मृत्यु भएको हाे । रोजगारीकाे शिलशिलामा गएका ७ सय ६१ पुरुष र २८ महिला गरि ७८९ नेपाली कामदारको मृत्यु भएकाे हाे ।

चालु आर्थिक वर्षको फागुनसम्म मृतकका परिवारका सदस्य तथा नजिकका हकदारवालाले क्षतिपूर्ति बापत् रु. ४१ करोड १ लाख ८० हजार प्राप्त गरेका छन् । यस अवधिमा वैदेशिक रोजगारीको क्रममा शरिरिक रुपमा अङ्गभङ्ग तथा बिरामी भएका १६० पुरुष र ६ महिला गरी १६६ कामदारले आर्थिक सहायता बापत् रु. ५ करोड ९३ लाख १३ हजार प्राप्त गरेका छन् ।

२०७९ फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको कुल संख्या ५५ लाख २६ हजार ७ सय ४ पुगेकाे छ । नयाँ श्रम स्वीकृति लिने कामदारमा ९४.४ प्रतिशत पुरुष रहेका छन् भने महिला ५.६ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० म(साउन देखी फागुनसम्म) श्रम स्वीकृति लिने ३ लाख ३७ हजार १ सय ४४ मध्ये पुरुष ९० प्रतिशत र महिला १० प्रतिशत रहेका छन् । २०७९ फागुनसम्म वैदेशिक रोजगारीको लागि ईपिएस प्रणाली मार्फत ८५ हजार ८ सय ४ कामदार दक्षिण कोरिया गएका छन् ।