तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौतामा हस्ताक्षर


दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारत भ्रमणकाक्रममा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बिहीबार नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र भारतीय विकासकर्ता कम्पनीकोतर्फबाट एसजेभीएन लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले परियोजना विकास सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

लगानी बोर्डको ५३ औं बैठकले गठन गरेको वार्ता समितिले विकासकर्तासँग चरणवद्ध रुपमा वार्ता गरी तयार गरेको परियोजना विकास सम्झौताको दस्तावेजलाई ५४ औं बैठकले अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेश गरेको थियो।

मन्त्री परिषद्ले सम्झौताको दस्तावेज स्वीकृत गरी हस्ताक्षर गर्नका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारी दिएको थियो। सोही अनुसार सम्झौता भएको जनाइएको छ ।

यसका साथै प्रधानमन्त्री दाहालले बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको इन्डिया नेपाल बिजनेश समिटलाई सम्बोधन गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान् गरेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका विभिन्न क्षेत्रहरूमा लगानीका अवसर सिर्जना हुँदै गइरहेको र लगानीका लागि उपयुक्त गन्तव्य रहेकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान् गरेका छन् ।

उक्त समिटलाई सम्बोधन गर्ने क्रममा भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले उक्त आह्वान्लाई समर्थन गर्दै नेपालमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई उत्प्रेरित गरेका थिए ।