बजेटमा अनाधिकृत व्यक्ति पसेका छैनन्ः अर्थमन्त्री महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको प्रष्ट पारेका छन् । आर्थिक मिडिया सञ्चाल‌कहरूको संस्था इकोनोमिक मिडिया सोसाइटीद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा उनले आधिकारिक व्यक्तिहरूले बजेटबारे निर्णय गरिसकेपछि भन्सार विभागले करारमा लिएका व्यक्तिले अन्त्यमा टाइपमात्र गरेको बताए ।
“म चुनौती दिएर भन्छु, निश्चित फाइदा उठाइरहेका व्यक्तिहरू थिए, तिनले फाइदा उठाउन नपाएर रिसाएका हुनसक्छन्,” अर्थमन्त्री डा. महतले भने, “कसैलाई जानाजान फाइदा पुर्‍याउने, कसैलाई जानाजान बेफाइदा पुर्‍याउने काम मैले गरेको गरेको छैन । म चुनौती दिएर भन्छु । कर्मचारीलाई सोध्नुस, व्यवसायीलाई नै सोध्नुस । केही नपाएर इमानदारितापूर्वक मैले काम गरिरहेको छु, यसमा पनि हिलो छ्याप्ने काम भइरहेको छ ।”

आफूले इमानदारीपूर्वक काम गर्दा पनि हिलो छ्याप्ने काम भइरहेको भन्दै पटकपटक आपत्ती जनाएका महतले कहीँकतै चुहावट नभएको दाबी गरे । उनले भन्सार विभागमा करारमा कार्यरत सेवानिवृत्त नायव सुब्बा रामकृष्ण श्रेष्ठप्रति संकेत गर्दै आर्थिक ऐनमा हार्मोनाइज्ड कोड प्राविधिक हुने भएकाले अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिवसमेतको टिमले करका दरहरू निर्धारण गरेर हस्ताक्षर गरिसकेपछि ती कर्मचारीले टाइप गरेको बताए ।