१५ औं विश्व खाद्य स्वच्छता दिवस नेपाल र विश्वभर मनाइदै


काठमाडाैँ । आज विश्व खाद्य स्वच्छता दिवस विश्वभर मनाइदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गतका कार्यालयहरूकाे नेतृत्वमा नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । 

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भए पश्चात हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’  विश्वभरी मनाउने गरिन्छ। नेपालमा विभागले विगत १५ वर्ष देखि लगातार खाद्य स्वच्छता दिवस मनाउदै आएको छ।  

याे वर्ष विश्वभर फुड स्ट्यान्डर्ड सेभ लाइफ नाराका साथ र नेपालमा “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ” भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा गत जेठ जेठ १८ देखि सप्ताहव्यापी कार्यक्रम मनाइदैछ । 

बुधवार बिहान ७ः३० देखि काठमाडाैँ बबरमहलस्थित विभागकाे प्राङ्गणदेखि काठमाडाैँ जिल्ला अदालत, माइतीघर मण्डला, भद्रकाली मन्दिर, प्रदर्शनी मार्गसम्म प्रभातभेरी सकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री बेदूराम भुसालकाे प्रमुत आतिथ्यमा ९ः३० देखि राष्ट्रिय सभागृह मुल कार्यक्रम हुँदैछ । देशभरका विभाग मातहतका कार्यालय र खाद्य स्वच्छतासँग सराेकार राख्ने निकायहरूले पनि छुट्टाछुट्टै विविध कार्यक्रम आयाेजना गरेर दिवस मनाउने कार्यक्रम छ।

“विभागले विगत देखि नै आम उपभोक्ताको  स्वास्थ्य तथा सुविधालाई प्रमुख लक्ष्यको रुपमा लिई खाद्य पदार्थहरुको मापदण्ड निर्धारण गर्ने र सोही मापदण्डहरुको आधारमा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरु, आयात विन्दु र खाद्य बजार तथा विक्रिबितरण स्थलहरुमा निरन्तर रुपमा अनुगमन निरीक्षण गरि नियमन एवं कारवाहीका कार्यहरु गरिआएको छ,” विभागका प्रवक्ता माेहनकृष्ण महर्जनले भने, “खाद्य स्वच्छता बारे सचेतना बढाउनका लागि सप्ताहव्यापी रूपमा दिवसकाे कार्यक्रम गरिएकाे हाे।”