बजेटमाथि सांसद विनोद चौधरीको टिप्पणी,‘लक्ष्य हासिल गर्न कडा मेहनत गर्नुपर्छ’


काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हासिल गर्न कडा मेहनत गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजित बजेटबारे आज आफ्ना धारणा राख्दै चौधरीले आम्दानी र खर्चको हिसावले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न चुनौति रहेको बताए ।

सरकारले प्रस्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ ब्याज भन्दा विकास बजेट सानो हुन थालेको उनको टिप्पणी थियो ।

सांसद चौधरीले ऋणको सावाँ ब्याज भुक्तानीको लागि १७.५५ प्रतिशत वित्तीय व्यवस्थापन गरिएको र विकास कार्यक्रमको लागि पुँजीगततर्फ १७.२५ प्रतिशत बजेट विनियोजन हुनु भनेको अर्थतन्त्र क्रमशः गिर्दो अवस्थामा गएको सूचक भएको टिप्पणी गरे ।

देशले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँको खर्च गर्नुुपरेको अवस्था भनेको देशमा आर्थिक विकासको गति रोकिएको मान्नुपर्ने सांसद चौधरीको टिप्पणी छ ।

सरकारले आगामी आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न धेरै मेहनत गरे बजेटले सकारात्मक सुधार गर्ने अपेक्षा गर्न सकिने बताए ।

सरकारले प्रस्ताव गरेको बजेट गठबन्धनमा भएको सरकारले ल्याएको भएर पनि बजेटमा स्पष्ट सामाजिक, राजनैतिक दृष्टिकोणको कमी रहेको बताए । बजेटमा निजी क्षेत्रलाई प्रोत्साहित गरेकोले सकारात्मक रुपमा लिन सकिने सांसद चौधरीको भनाई थियो ।