बेलहिया नाकाबाट १०० रुपैयाँ भन्दा बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने


काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ ।

भैरहवा भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘रु एक सय भन्दा बढि मुल्यको मालसामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको यस भैरहवा भन्साल कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरि जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ ।’ उल्लेख गरिएको छ ।
अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने जनाएको छ ।

यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ ।

भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कर्डाइ थालिएको हो ।

सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको छ । यो प्रकृयाले यताको उद्योगी व्यवसायी खुसी भएपनि केही उपभोक्ताले भने गलत भएको दावी गरेका छन् ।