नेपालमा लगानी विस्तार गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह



काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको उत्पादन र रोजगारीमूलक उद्योगमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत व्यापार मञ्च’ (नेपाल–इन्डिया बिजनेस फोरम) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका प्रशस्त अवसरहरू रहेको बताए ।

सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यातायात तथा सूचना प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारे ।

कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानी लगायतका पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

मञ्चमा दुवै देशका उद्योगी–व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना र सहकार्यका क्षेत्रहरूबारे आ–आफ्नो धारणा राखेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) हरूमा समेत हस्ताक्षर भएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासङ्घ (सिआईआर्ई) का उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पा लगायत दुवै देशका उच्च अधिकारी तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।