काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज नयाँ दिल्लीमा पहिलो पटक प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हुँदैछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यस भेटवार्ताले आगामी वर्षहरूका लागि दुई देशको सम्बन्धलाई ‘नयाँ राजनीतिक दिशा’ दिने अपेक्षा गरिएको छ । भ्रमणको दोस्रो दिन आज विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन र महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको आजको व्यस्त कार्यतालिका अनुसार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई विशेष ‘गार्ड अफ अनर’ अर्थात् औपचारिक सम्मान प्रदान गरिनेछ ।
सम्मान ग्रहण गरेलगत्तै उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी पुष्पगुच्छा अर्पण गर्नेछन् । त्यसपछि मध्याह्नमा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता, परियोजनाहरूको उद्घाटन तथा एमओयू हस्ताक्षर समारोहमा सहभागी हुनेछन् ।
हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबिच हुने द्विपक्षीय वार्तापछि विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी, जलवायु परिवर्तन, विपद् उत्थानशीलता, पूर्वाधार र प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण एमओयूहरूमा हस्ताक्षर हुने तय भएको छ ।
सोही अवसरमा दुई प्रधानमन्त्रीले संयुक्त रूपमा उत्तराखण्डस्थित भारत–नेपाल सीमाको धार्चुला पुल, बनबासा सुख्खा बन्दरगाह (ल्यान्ड पोर्ट) र जनकपुर–गोरखपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै, मालवाहक र यात्रुवाहक यातायात विस्तारका लागि रक्सौल–काठमाडौँ नयाँ रेलमार्ग निर्माणका विषयमा पनि आज ठोस वार्ता हुने ‘द हिन्दु’ले लेखेको छ ।
यसअघि हिजो आइतबार दिल्ली पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गरिसकेका छन् ।
प्रधानमन्त्री मोदीसँगको वार्तापछि अपराह्न प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । आजै साँझ औपचारिक भ्रमण सम्पन्न गरी उनी काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्