‘बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता’


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन् ।

भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताए ।

यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरु निर्माण गर्न बिमस्टेकमा रहेका देशहरुले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाई थियो ।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको बृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य श्रृङ्खलाको विकासमा सहयोग पुर्याउन पूर्वाधारको विकास र स्तरोन्नति गर्न संयुक्त प्रयास गर्न सकिने पनि बताए ।

“उर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापार सहित क्रस बोर्डर ऊर्जा सहयोग प्रवद्र्धनले क्षेत्रीय मूल्य श्रृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ,” उनले भने ।

कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेको पनि अध्यक्ष ढकालको भनाई थियो ।