‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको सहयोग


काठमाडौँ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमालहरू चढ्न जाने भएकी छन् ।

यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ।

विश्वका सबैभन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृंङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन्।

७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पछि सुरू हुने बताइएको छ। संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरू गरेकी हुन्।

फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरू गरेकी हुन्। उनले नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन्।