चिनियाँ राजदूतले भने,‘पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो ’


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै राजदूत सोङ्ले विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको बताएका हुन् ।

यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका थिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताए ।

उनले भने,“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।”

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।