काठमाडाैँ । भारतको थोक मूल्य सूचकाङ्क (डब्लूपीआई) मा आधारित मुद्रास्फीति जुलाई महिनामा सामान्य घटेर ९.७८ प्रतिशत कायम भएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो महिना जुनमा यस्तो मुद्रास्फीति ९.८७ प्रतिशत रहेको थियो ।
मन्त्रालयकाअनुसार सबै वस्तुहरूको समग्र सूचकाङ्क जुन महिनाको ११०.२ बाट घटेर जुलाईमा ११०.० मा झरेको छ । यस महिनामा खनिज तेल, खाद्य वस्तुहरू, आधारभूत धातुको उत्पादन, गैर-खाद्य वस्तुहरू, खाद्य उत्पादन तथा रसायन र रासायनिक उत्पादनहरू थोक मुद्रास्फीतिका प्रमुख कारकहरूका रूपमा रहेका छन् । यद्यपि, थोक खाद्य सूचकाङ्कमा भने वृद्धि देखिएको छ ।
प्राथमिक वस्तु समूह र निर्मित खाद्य उत्पादनलाई समेट्ने यस सूचकाङ्कको वृद्धिदर जुनमा ६.१४ प्रतिशत रहेकामा जुलाईमा बढेर ६.६५ प्रतिशत पुगेको छ ।
अर्कोतर्फ, सरकारले गत बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतको खुद्रा मुद्रास्फीतिमा भने सामान्य बढोत्तरी भएको छ । जुन महिनामा ४.३८ प्रतिशत रहेको खुद्रा मुद्रास्फीति जुलाईमा ४.४५ प्रतिशत पुगेको हो । यसैगरी खाद्य मुद्रास्फीति पनि ५.३२ प्रतिशतबाट वृद्धि भई ५.५२ प्रतिशत कायम भएको छ ।
खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण नै समग्र खुद्रा मुद्रास्फीति बढ्न पुगेको तथ्याङ्कले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्