नेपालमा हालसम्मकै ठुलो परिमाणको लागुऔषध एसएसडी सहित १२ जना पक्राउ


काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

नेपालमा कमै नाम सुनिने गरिएको हार्ड ड्रक्स एलएसडी ठूलो परिमाणसहित एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)को विशेष अपरेशन टोलीले १० हजार १३० पिस एलएसडीसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । जसमध्ये ५ जना विदेशी र ७ जना नेपाली रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीको स्टिकरमा लेपन गरेर नेपाल भित्र्याउनेदेखि ट्रान्स पार्टीहरुमा पुर्‍याउनेसम्मको गिरोहलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको थियो । ब्युरोका अनुसार काठमाडौंको चन्द्रागिरीबाट असार ५ गते २९ वर्षीय सुगम मैनाली ७ वटा पिसको स्टिकरसहित पक्राउ परेका थिए ।

उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

प्रहरीका अनुसार एउटा पिसको २ हजारदेखि ५ हजार रुपैयाँसम्म गर्छ। सुगमलाई प्रयोग गरेर प्रहरीले मुखिया गुरुङलाई पक्राउ गरेको थियो । गुरुङ यसअघि पनि लागुऔषध कारोबारमा २०७५ सालमा पक्राउ परी दुई वर्षभन्दा बढी जेल बसेर छुटेका थिए । प्रहरीले गुरुङको साथबाट ३ हजार ७०० मिलिग्राम कोकिन बरामद गरेको ब्युरोका एसपी चक्र जोशीले बताए ।

गुरुङकै माध्यमबाट प्रहरीले विराटनगरका २६ वर्षीय बच्चन भन्ने राज गौतमलाई पक्राउ गरेको थियो । गौतम नेपालका विभिन्न स्थानमा ट्रान्स पार्टी आयोजना गर्ने र त्यहाँ एलएसडी पुर्‍याउने प्रमुख सदस्य रहेको एसपी जोशीले बताए ।

गौतमसँगै पक्राउ परेकी चेक गणतन्त्रकी ३२ वर्षीया मार्टिना सर्नाको साथबाट २६ थान स्टिकर र मेथामफेन्टामाइन ४ सय मिलिग्राम बरामद भएको थियो ।

उनीहरुकै माध्यमबाट एलएसडी नेपाल भित्र्याउने इटालीका डेभिड मिनाडियो पक्राउ परेका थिए । मिनाडियो बस्दै आएको ठमेलको होटल कोठाबाट १० हजार ९८ थान एलएसडी, ३८ ग्राम मेथामफेन्टामाइन, १ लाख ३९ हजार भारतीय रुपैयाँ, ७ सय युरो बरामद भएको थियो । उनी भारत हुँदै नेपाल भित्रिएको अनुसन्धानबाट खुलेको छ ।

बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको ब्यूरोका अधिकृतहरुले बताए ।