हिमालयन लाइफ इन्स्याेरेन्समा सिइओ नियुक्ति प्रक्रिया अगाडि बढाउन बाटो खुला


काठमाडौं । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया रोक्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले आज अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै कम्पनीलाई नयाँ सिइओ नियुक्तिको बाटो खुलेको हो ।

यसअघि तत्कालीन सिइओ कपिल कुमार दाहालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले भदौ ८ गते नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

तत्कालीन सिइओ दाहालले आफूलाई पदबहाली गर्न र नयाँ सिइओ नियुक्ति प्रक्रिया रोक्न माग गर्दै भदौ ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

हिमालयन लाइफको लगानी रहेको सहायक कम्पनी ‘हिमालयन इन्भेष्टमेण्ट बैंकर’ को सञ्चालक समिति अध्यक्षको हैसियतमा रहँदा लगानी दुरुपयोग गरेको फौजदारी अभियोग लागेपछि दाहाल पक्राउ परेका थिए ।

थुनामा परेसँगै उनी गत जेठ २८ गतेदेखि सिइओ पदबाट निलम्बनमा परेका थिए । साउन २२ गते थुनामुक्त भएपछि उनले पुनः पदबहालीको माग गर्दै सर्वोच्च गुहारेका थिए ।

हाल हिमालयन लाइफ इन्स्योरेन्सको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले सम्हाल्दै आएका छन् ।