पशुपतिमा राखिएको जलहरीको अनुसन्धान टुंग्याउन अझै २ दिन लाग्ने


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथमा राखिएको सुनको जलहरी जोखेको छ ।

आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरीको नापजाँच गरेको हो ।

जलहरीमा करिब एक सय ७ केजी अर्थात १०६ दशमलब ४३२५ किलो ग्राम सुन मापन भएको छ भने जलहरी कस्न बनाइएका काँटीको मापन साढे एक किलोग्राम भएको अख्तियारका एक अनुसन्धान अधिकृतले बताए ।

यो सँगै टोलीले जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जलहरीमा राखिएका सबै धातुको औसत तौल निकालेर अनुसन्धानलाई टुंग्याउन अझै २ दिन लाग्ने अख्तियार स्रोतले जनाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा जलहरीमा प्रयोग भएको सुनको मापन करिब ९७ केजी र करिब ११ केजीको रिङ भएको भन्दै पशुपति विकास कोषको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो ।

जलहरीमा राखिएको सुन अपुग भएको दाबी गर्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । पहिलो चरणमा कोषका पदाधिकारीसँग बयान लिएको अख्तियारले सोमवार पशुपति परिसरमै नेपाली सेनाको रोहबरमा सुनको नापतौल लिएको हो ।

्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४।७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो।