माछा पालन गरेर राजश्व उठाउने सुनकोशी गाउँपालिकाको लक्ष्य


काठमाडौँ । सुनकोशी गाउँपालिकाले खाली पोखरीबाट राजस्व उठाउने लक्ष्य लिएको छ । सुनकोशी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि राजस्व परिचालनका नीतिहरुमा माछा पोखरी, पनि राखेको छ ।

पालिकाले एक वर्षदेखि खाली रहेको माछा पोखरीबाट राजस्वको लक्ष्य लिएको हो । पालिकाले २०८०/८१ राजस्व परिचालनका नीतिहरुमा माछा पोखरी, कवाडी र अखेटोपहर जस्ता निकासी सामानाहरु पलास्टिकजन्य फोहोर व्यवस्थापन, सुनाकोशी नदीका विभिन्न स्थानहरु र वडा नम्बर १ घयाम्पे खोला नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि ठेक्का खोलिने जनाएको छ ।

पालिकाले राजस्व परिचालनको नीतिमा खाली रहेको माछा पोखरी पनि राखेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर २ मा रहेको माछा पोखरी १ वर्षदेखि माछा पालन गरिएको छैन । पालिकाले बोलपत्र आह्वान गरेपनि बोलपत्र पेश नभएपछि आगामी आर्थिक वर्षको लागि फेरी बोलपत्र आह्वान् गरेको छ ।

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले माछा पालनको लागि बोलपत्र आह्वान भएको तर बोलपत्र पेश नभएपछि माछा पोखरी खाली रहेको बताए ।

“मैले आएदेखि सुरुमा २ पटक ठेक्का लगाउन सूचना निकालेको तर लागेन । ठेक्का नलागेपछि नयाँ आर्थिक वर्षको लागि सुचना निकालेको छौं । सुरुमा सहकारीसँग सम्झौता गरेर माछा पालन गरिएको थियो,” उनले भने,“ सहकारीले परिचालन गर्न सकेन । लगानी भएको हिसाबले सहकारीलाई अनुदान दिएकोले गाउँपालिका आफैँले ठेक्का लगाउन लागेको हो । यो वर्ष दुई पटक लागेन आगामी आर्थिक वर्षमा लाग्छ कि ? भन्ने छ ।” माछा पोखरी ठेक्का नलागेको अवस्थामा अन्य स्रोतबाट बढि आउने उनले बताए ।

गाउँपालिकाको लगानीमा सहकारीले सञ्चालन गर्ने गरि खनिएको पोखरीमा सहकारीले सञ्चालन गर्न नसकेपछि हाल बन्द अवस्थामा रहेको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रममा माछापालनलाई प्रवद्र्धन गर्नको लागि भन्दै नयाँ पोखरीको निर्माण र पुरानो पोखरीको मर्मत गर्ने भनेको छ । पालिकाले चिसो र तातो पानीमा हुने माछापालन कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

पालिकाको नीति तथा कार्यक्रममा भनिएको छ,“माछापालनलाई प्रवद्र्धनका लागि नयाँ पोखरी निर्माण पुरानो पोखरीहरु मर्मत तथा सुधार मत्स्य ह्याचरी र नर्सरी स्थापना सञ्चालन तथा व्यवस्थापन सम्भाव्यताको आधारमा चिसो र तातो पानीमा हुने माछापालन कार्यक्रमहरु सञ्चालन गरिने छ ।”

उनले कृषि सहकारी गर्ने तर कृषि काम नगर्ने जस्ता देशैभरीका सहकारीको उदेश्य कारोबारमा मात्र आधारित रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत दर्जीले यहाँको सहकारीको पनि एउटै प्रवृति देखिएको कारण सञ्चालन गर्न नसकेको बताए ।

उनले भने,“सहकारीले गरेको भए गाउँपालिकाले गर्नुपनि पर्ने थिएन । गत वर्ष सम्म त राजस्व आइरहेको थियो । चालू आर्थिक वर्षमा मात्र नआएको हो । सहकारी नै एक्टिभ भएन ।”

सुनकोशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन बुर्जाले आफु निर्वाचित भएर आउनुभन्दा अगाडी नै पोखरीमा माछा पालन सुरु गरिएको बताए । उनले भने,“अहिले पुरै बन्द छ पहिला जनसरकार कृषि सहकारीलाई जिम्मा दिएको थियो अहिले सहकारीले गर्न नसकेपछि बोल पत्र आह्वान गरेको हो ।”

आर्थिक वर्ष २०७६/७७ मा पालिकाले माछा पालनको लागि ७५ लाख रुपैयाँ छुट्टाएको थियो । त्यस ७५ लाख रुपैयाँबाट तीन ओटा माछा पोखरी खनेर माछा पालन गरिएको थियो । तर विगत एक वर्षदेखि सुनकोशी गाउँपालिका वडा नम्बर २ मा रहेको माछा पोखरी खाली रहेको छ ।

सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि व्यवसायिक माछापालन कार्यक्रमको लागि ५ लाख रुपैयाँ छुट्टाएको छ भने कृषि, पशुपन्छी तथा मत्स्य तथ्यांक अध्यावधिक कार्यक्रमको लागि १ लाख रुपैयाँ छुट्टाएको छ ।