उद्योग विभागका शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापा विरुद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ । उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी (करार) दिपा थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको हो । कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको आरोपमा अख्तियारको टोलीले घिमिरे र थापालाई १२ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले आपसी मिलेमतो तथा योजनामा व्यापार चिन्ह (ट्रेडमार्क) दर्ता गरेर ट्रेडमार्क दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।