अहिले अर्थतन्त्र जागेको छ: प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व लिँदा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको भएपनि अहिले जागेको बताएका छन् ।

बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले आफुले सरकारको नेतृत्व लिँदा नेपालको नियती श्रीलंकाको जस्तो हुने भाष्य सिर्जना भएपनि अहिले अर्थतन्त्र जागेको बताएका हुन् ।

उनले भने, “नेपालको नियती श्रीलंकाको जस्तो हुने भयो भन्ने भाष्य बौद्धिक वर्गमा मात्र सिमित नभइ आम नागरिकसम्म पुगेको थियो । यसले देशलाई आशंकित र त्रसित बनाएको थियो । तर अहिले अर्थतन्त्र केही जागेको छ । यसलाई सरकारको मात्र उपलब्धि नभइ राष्टको उपलब्धिमा उल्लेख गर्न चाहेको छु ।”

उनले अहिले सबै जसो आर्थिक सुचक सकारात्मक दिशातिर अगाडी बढेको बताएका छन् । उनले पछिल्लो छ महिनामा कुल विदेशी विनिमय सञ्चिती २०.९ प्रतिशतले वृद्धि भएको, ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका रहेको बताएका छन् ।

व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको र विप्रेषण पनि उल्लेखनीयरुपमा वृद्धि भएको उनले बताए ।