फोनेपे र नमस्तेपेबीच क्यूआर भुक्तानी सम्झौता, फोनपेका १२ लाख बढी मर्चेन्टमा सहज भुक्तानी


काठमाडौँ । नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोनपे’ र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’ बीच क्यूआर भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

फोनपे का प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत प्रविण पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोन पे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा खुसी रहेको बताए । “अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्युआर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौं कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ।’’ उनले भने ।

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको उनकाे भनाइ छ । नमस्ते पे सँगको साझेदारीले, फाेन पे का ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको र समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको उनले बताए ।

नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले फोनपे नेटवर्कलाई भुक्तानी प्रणालीमा समेटी प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा निकै उत्साहित रहेको बताएका छन् । उनले भने, “हामी ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले ग्राहकहरूलाई सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।”