कुल कर्जा प्रवाहमा कर्णाली प्रदेशको अंश १.२ प्रतिशत


काठमाडौँ । २०७९ पुसमसान्तसम्म बैंक तथा वित्तीय संस्थाले गरेको कुल कर्जा प्रवाहमा सबैभन्दा कम अंश कर्णाली प्रदेशको रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदनले कुल कर्जा प्रवाहमा कर्णाली प्रदेशको अंश १.२ प्रतिशत रहेको जनाएको हो ।

सबैभन्दा बढी बागममती रहेको रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जा प्रवाहमा बागमती प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाहको अंश सबैभन्दा धेरै ५५.६ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६९.४ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.२ प्रतिशत रहेको छ ।

२०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका ११ हजार ५८८ शाखा सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार जसमध्ये वाणिज्य बैंकका ५ हजार २९, विकास बैंकका १ हजार १२८, वित्त कम्पनीका २८० तथा लघुवित्त
वित्तीय संस्थाका ५ हजार १५१ शाखा सञ्चालनमा रहेका छन् ।

यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ३ हजार ०२५ शाखाहरु तथा कर्णाली प्रदेशमा सबैभन्दा कम ४५९ शाखाहरु सञ्चालनमा रहेका छन् ।