चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीनः सांसद डा. वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा सांसद वाग्लेले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए ।

सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको उनले बताए ।

वाग्लेले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताएका छन् ।

नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको उल्लेख गरे।

असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको वाग्लेले बताए । उनले सरकारको लक्ष्य  ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भनेपनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गरे ।

सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको उल्लेख गरे ।