वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि


काठमाडौँ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को एघार महिनाको तथ्याङ्क) अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको हो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई रु.१११२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.१२२९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।