पछिल्लो ११ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१.८ प्रतिशतले बढ्यो


काठमाडौं । पछिल्लो ११ महिनामा मुलुकको विदेशी मुद्राकाे सञ्चिति २१.८ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले सोमबार (आज) सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जेठ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १८.५ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर बराबर रहेको सञ्चिति २०८० जेठ मसान्तसम्म ११ अर्ब ३० करोड कायम भएको छ । २०२१ नोभेम्बरमा विदेशी विनिमय सञ्चिति १५ खर्ब नाघेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०।१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ ।

२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।९ प्रतिशत रहेको छ ।