सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । मुलुकका अन्य राजनीतिक दलहरु असफल भइसकेको उनको भनाइ छ । उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको पनि बताए ।

उनले भने, ‘नेपालको राजनीति एउटा अध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिराखेको छ । सबै जस्तो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइराखेका छन् । यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब आउने चुनौतीको सामना गर्नको लागि तयार पार्ने र आगामी देशको नेतृत्व गर्ने शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तयार पार्ने हाम्रो जिम्मेवारी छ । हाम्रो कर्तव्य छ ।’

उनले पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै सबैका लागि ढोका खुला गर्नुपर्ने गर्नुपर्ने समेत बताए । उनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको एजेण्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए।

आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरको उपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ ।