नेपालको निजी क्षेत्रको पहिलो नबिल बैंकले मनायो ३९ औँ वार्षिकोत्सव


काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वार्षिकोत्सव मनाएको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको छ ।

३९ औं वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे । कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाई छ । दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।

सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो । नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको थियो ।

नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो ।

कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।