काठमाडौँ । नेपाल लाइफ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को वित्तीय अवस्था एक महिनामै नराम्ररी खस्किएको छ ।
योजनाले सार्वजनिक गरेको २०८३ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो महिना अर्थात असोजको तुलनामा खुद नाफामै करिब ८७ प्रतिशतले गिरावट आएको छ भने सुरुवाती पुँजी नै ११ करोडले गुमेको छ । लगानीकर्ताले एक महिनामै ५.७७ प्रतिशत अर्थात ११ करोड ५३ लाख ९९ हजार रुपैयाँ गुमाएका हुन् ।
प्रति इकाई १० रुपैयाँ अङ्कित मूल्यमा २० करोड इकाई जारी गर्दै २ अर्ब रुपैयाँको आकारबाट कोष योजना सुरु भएको थियो । कार्तिक मसान्तसम्म आइपुग्दा कोषको आकार नै १ अर्ब ८८ करोड ४६ लाख रुपैयाँमा खुम्चिएको छ । पछिल्लो एक महिनामै योजनाको खुद सम्पत्ति ६ करोड ८२ लाख ४७ हजार रुपैयाँ (३.४९ प्रतिशत) ले ओरालो लागेको छ ।
एकै महिनामा कोषको नाफामा ६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको गिरावट आएको छ । कार्तिक मसान्तमा खुद नाफा ९९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ जबकि असोज मसान्तमा ७ करोड ५२ लाख ४६ हजार रुपैयाँ थियो ।
सम्पत्ति र नाफामा आएकोे भारी गिरावटसँगै ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि असोजको ९ रुपैयाँ ७६ पैसाबाट ३४ पैसाले घटेर ९ रुपैयाँ ४२ पैसामा झरेको वित्तीय विवरणमा उल्लेख छ । योजना सुरु भएयता लगानीकर्ताले प्रति इकाई ५८ पैसा साँवा गुमाइसकेको विवरणले देखाउँछ ।
व्यवस्थापकीय खर्च झन् बढ्यो
वित्तीय विवरणले आम्दानी र खर्चबिचमा निकै असन्तुलन देखाएको छ ।
असोज मसान्तमा १७ करोड ७ लाख २७ हजार रुपैयाँ रहेको कुल आम्दानी कार्तिकमा २९.४५ प्रतिशतले घटेर १२ करोड ४ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।
योजनाको आम्दानी, नाफा र सम्पत्तिमा ठुलो पहिरो जाँदासमेत कोषको सञ्चालन तथा व्यवस्थापकीय खर्च भने झन् बढेको वित्तीय विवरणले देखाउँछ । असोजमा ९ करोड ५४ लाख ८१ हजार रुपैयाँ रहेको कुल खर्च कार्तिकमा १५.७६ प्रतिशतले बढेर ११ करोड ५ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
कोषले कुल सम्पत्तिको करिब २२ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बैंक मौज्दातमै निष्क्रिय राखेको छ ।
कोषले उत्पादन तथा प्रशोधन समूहमा २३ करोड १ लाख, जलविद्युतमा १८ करोड ८१ लाख र लघुवित्तमा १६ करोड ६८ लाख रुपैयाँ जस्ता उच्च उतारचढाव हुने क्षेत्रमा ठुलो लगानी केन्द्रित गरेको तथ्याङ्कले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्