नबिलको एसआइपी ‘एन आई ३१’ : वास्तविक कमाइ शून्य, दायित्व ५९ गुणाले चुलिँदा साँवामै ७२ लाख घाटा


काठमाडौँ । नबिल म्युचुअल फन्डको खुलामुखी योजना ‘एन आई ३१’ को आन्तरिक वित्तीय स्वास्थ्य कमजोर देखिएको छ ।

योजनाले सार्वजनिक गरेको २०८३ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार कोषले कागजी रूपमा नाफा बढेको देखाए पनि वास्तविक कारोबारमा एक रुपैयाँ पनि नाफा कमाउन सको छैन भने दायित्व झन्डै ५९ गुणाले चुलिएको छ । सेयर लगानीको साँवा मूल्यमै ७२ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको तथ्य वित्तीय विवरणले देखाएको छ ।

आमदानी शून्य
वित्तीय विवरण अनुसार असोज मसान्तमा १ करोड ५७ लाख ९३ हजार रुपैयाँ रहेको एसआइपी योजनाको खुद नाफा कार्तिक मसान्तमा १२.३५ प्रतिशतले बढेर १ करोड ७७ लाख ४३ हजार ८७१ रुपैयाँ पुगेको छ । यो नाफा वास्तविक आम्दानीभन्दा पनि सेयर बजारको भाउ बढेर देखिएको ‘कागजी नाफा’ हो ।

कार्तिक मसान्तसम्मको कुल आम्दानी २ करोड १४ लाख ४० हजार रुपैयाँमध्ये करिब ६१ प्रतिशत अर्थात् १ करोड ३० लाख ६२ हजार ४६६ रुपैयाँ ‘प्राप्त भइनसकेको आम्दानी’ ( मात्र छ, जुन सेयर बजार ओरालो लाग्दा जोखिम छ ।

गत असोज मसान्तमा धितोपत्र बिक्रीबाट भएको वास्तविक लाभ ७० लाख २० हजार ३५० रुपैयाँ थियो, कार्तिक मसान्तमा पनि ठ्याक्कै त्यति नै (७० लाख २० हजार ३५० रुपैयाँ) छ ।

यसको अर्थ, कोष व्यवस्थापक (नबिल इन्भेष्टमेन्ट बैंकिङ) ले कार्तिक महिनाभरिमा सेयर बेचेर एक रुपैयाँ पनि वास्तविक नाफा कमाउन सकेको तथ्या उजागर भएको छ । सेयर खरिदबिक्री खर्च (ब्रोकर कमिसन) भने असोजको ४ लाख ८८ हजारबाट बढेर ६ लाख १४ हजार रुपैयाँ पुगेको छ । वास्तविक कमाइ शून्य हुँदा पनि कुल खर्च एकै महिनामा ३६.५६ प्रतिशतले बढेर ३७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

एकै महिनामा दायित्व ५९ गुणाले उकालो
असोज मसान्तमा ४ करोड ५८ लाख ३५ हजार १७१ रहेको जम्मा इकाई सङ्ख्या कार्तिक मसान्तमा ६६ लाख ३८ हजार ५६ इकाईले बढेर ५ करोड २४ लाख ७३ हजार २२७ पुगेको छ । तर, नयाँ लगानी थपिँदा पनि बैंक मौज्दात भने असोजको १६ करोड ३६ लाख २४ हजार रुपैयाँबाट घटेर १५ करोड ५० लाख २१ हजार रुपैयाँमा झरेको छ ।

यही अवधिमा योजनाले तिर्नुपर्ने ‘चालु दायित्व’ असोजको जम्मा ३ लाख १२ हजार ६५२ रुपैयाँबाट अस्वाभाविक रूपमा ५८.८६ गुणा (५,७८६ प्रतिशत) ले बढेर १ करोड ८४ लाख ३ हजार ८६८ रुपैयाँ पुगेको छ । एकातिर बैंक खाताको नगद घट्दै गएको र अर्कोतिर तिर्नुपर्ने दायित्व झन्डै ६० गुणाले चुलिनुले कोषको नगद तथा भुक्तानी व्यवस्थापनमा असन्तुलन देखिएको छ ।

लगानीको साँवामै ७२ लाख घाटा
वित्तीय विवरणको टिप्पणी अनुसार कोषले धितोपत्रमा कुल ४२ करोड १० लाख २९ हजार ६०२ रुपैयाँ लागत मूल्य मा लगानी गरेको छ । तर कार्तिक मसान्तमा त्यसको बजार मूल्य घटेर ४१ करोड ३७ लाख ७१ हजार ७६४ रुपैयाँमा सीमित भएको छ । कोषले खरिद गरेको धितोपत्रको साँवा मूल्यमै अझै ७२ लाख ५७ हजार ८३८ रुपैयाँ प्रत्यक्ष घाटा व्यहोरिरहेको वित्तीय विवरणले देखाउँछ ।

कोष व्यवस्थापकले करिब ५५ करोड रुपैयाँको सानो कोषलाई ६१ वटा फरक–फरक कम्पनी मा छरपस्ट पारेर पोर्टफोलियोलाई अनावश्यक रूपमा भद्दा बनाएको टिप्पणी विवरणमा छ । कतिपय कम्पनीमा जम्मा १०० देखि १३० कित्ता (जस्तैः सूर्यकुण्ड हाइड्रो १०० कित्ता, कालिका पावर १२८ कित्ता, एभरेष्ट कलर १३३ कित्ता) मात्र सेयर राखिएको छ ।

स्थिर ब्याज आउने मुद्दती निक्षेपमा शून्य लगानी राखेर १५ करोड ५० लाख रुपैयाँ (कुल सम्पत्तिको २८ प्रतिशत) बैंक खातामै निष्क्रिय राख्दा निक्षेपको घट्दो ब्याजदरले प्रतिफल झन् खुम्चिएको छ ।

यो योजनाको प्रतिफल बैंकको बचत खाताभन्दा कमजोर देखिएको छ । नाफा बढेको भनिए पनि प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) असोजको १० रुपैयाँ ५० पैसाबाट जम्मा ७ पैसाले मात्र बढेर १० रुपैयाँ ५७ पैसा मा सीमित हुँदा आम एसआइपी लगानीकर्ताले वाणिज्य बैंकको साधारण बचत खाता बराबरको प्रतिफल समेत पाउन सकेका छैनन् ।

सर्वसाधारणको सानो–सानो बचत सङ्कलन गरी व्यवस्थित लगानी योजना (एसआइपी) मार्फत आकर्षक प्रतिफल दिने दाबी गर्दै आएको नबिल यो योजनामा चुकेको छ ।