अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोडिँदै


काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि सम्झौता गरेको छ ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीको उपस्थितिमा सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबिच सम्झौता भएको हो ।

२०७९ मंसिर २५ मा स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, द्दण्ठढ बमोजिम सम्झौता भएको हो ।

जस अन्र्तगत अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी कुल २०.३७ प्रतिशत रकम हाल एक हजार नौ सय बाह्र रुपैया मासिक रुपमा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने गरी सम्झौता सम्पन्न भएको जनाइएको ।

यसैगरी कार्यविधिमा स्वरोजगारमा रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत देखि सो को तीन गुणासम्म हाल न्यूनतम रु. दुर्इ हजार नौ सय नौ रुपैया पैँतिस पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ।

कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धि कोष र पालिकाबिचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुनेगरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ।

कार्यक्रममा फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकहरुलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरु प्रदान गर्नेगरी अघी बढेको उल्लेख गरिएको छ ।

पालिकाका अध्यक्ष घनश्याम सुवेदी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकहरुलाई कोषमा आबद्ध गर्न पाउँदा खुशी लागेको बताए ।

मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीले कोषलार्इ सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिक सम्म पुर्‍याउने गरी अगाडी बढ्न निर्देशन दिनु हुँदै अनौपचारिक क्षेत्रको कार्यक्रमको बिस्तारका लागि सबै ७५३ वटा पालिकाहरुलाई आह्वान समेत गरेका छन् ।