जहाज खरिद राष्ट्रिय आवश्यकता भएको पर्यटनमन्त्री किराँतीको जिकिर


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको जिकिर गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा आज बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको र राष्ट्रिय आवश्यकता भएको दाबी गरे ।

उनले भने,“ नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ ।”

उनले दुर्गम क्षेत्रमा विमानस्थलहरू बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए ।

मन्त्री किराँतीले दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नभएको उल्लेख गरे ।

उनले भने,“ दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो ।”

नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी गराए ।

कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै मन्त्री किराँतीले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।