‘कामदारको सेवा सुविधा हेर्ने अध्यागमन कार्यालयकाे क्षेत्राधिकार भित्र छैन’


काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदारको कारार सम्झौता, सेवा सुविधा हेर्ने अध्यागमन कार्यलयको क्षेत्राधिकार भित्र नरहेको जनाएको छ ।

संघले पत्रकार सम्मेलन गर्दै संस्थागतरुपमा भिषा लगाई उडानका लागि गएका कामदारको कारार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालय क्षेत्राधिकार भित्र नरहेको जनाएको हो ।

वैदेशिक रोजगारमा जाने कामदारको मागपत्र, भिषा, उडान निश्चित भएको हवाई टिकट हेरेर जाँचबुझ गरी अन्तिम स्विकृती दिने अख्तियारी दिने वैदेशिक रोजगार विभागको रहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको अध्यागमन कार्यालयले देशिक रोजगारीमा हिँडेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो । अध्यागमन कार्यालयले दोहोरो कागजात रहेको भन्दै असार २४ गते १५ जना र असार २७ गते ११७ जनालाई फर्काएको थियो ।

असार २४ गते जोर्डन जान लागेका १५ जना र असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई कानूनभन्दा बाहेक अनावश्यक दोषारोपण लगाएर अध्यागमन कार्यलयले फर्काएको संघले जनाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले अहिले अनलाइन व्यवस्था भएकोले जो कोहीले पनि क्यूआर स्क्यान गरेर हेर्न सक्ने भएकोले दोहोरो कागजात भन्नु झुट रहेको बताए । अध्यक्ष भण्डारीले अध्यागमन कार्यालय पारदर्शी हुनुपर्ने उल्लेख गरे ।

“अध्यागमन कार्यालय माथिल्ला तलामा रहेको छ । तलबाट छिर्ने बेलामा सुरक्षा जाँच हुने, त्यसपछि बोर्डिङ पास हुने, त्यसपछि एक तलामाथि गएपछि अध्यागमन रहेको छ । यस हिसाबमा पारदर्शी हुनको लागि तल हुनुपर्छ,” उनले भने, “तल हुँदा केही समस्या आउँदा कसले के गर्यो ?, अध्यागमन कर्मचारी को हो ?, किन यसो गर्यो ?, यदि गम्भिर प्रकृती कारण फर्काउनु परेको छ भने लेखेर दिनुपर्यो । एक्सेस राम्रो हुनुपर्यो । सबैको पहुँच हुनुपर्छ ।”

उनले अध्यागमन कार्यालयले यस्तो गम्भिर कारणले फर्काउनु परेको भनेर खुलाउनुपर्ने बताए ।

संघका महासचिव मेघनाथ भुर्तेलले यस्ता कार्य गर्ने व्यक्तिलाई कानूनी कार्बाही गरी व्यवसायी र कामदारलाई परेको क्षतिपूर्ति दिनुपर्ने बताए ।

भिषा र हवाई टिकट बाहेकका अनावश्यक कागजातको जाँच परिक्षण गर्ने, कामदारलाई दुरव्यवहार गरेर उडान अनुमती नदिई फर्काउँदा कामदारको भिषा समाप्त भै रोजगार गुम्ने र व्यवसायीलाई हवाई टिकट वापतको ठुलो रकम क्षति हुने उनले बताए ।

श्रम स्विकृती लिई विदेश जाने कामदारलाई निर्वाधरुपमा उडान गर्न दिने वातावरण बनाउन संघले माग गरेको छ ।