७७ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो निर्माण हुने


कास्की । नेपाल आयाल निगम लिमिटेडले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। पोखरा अन्तराष्ट्रि विमानस्थलको संचालनमा आएपछि निगमले नागरिक उड्यान प्राधिकरणको जग्गा लिजमा लिएर करिब ७७ करोड रूपैयाँ लगानीमा हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो।

सोमबार एक कार्यक्रमकाबिच निगमले विमानस्थल परिसर भित्र निर्माण गर्ने डिपोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शिलन्यास गरेको हुन् । त्यस्तै कार्यक्रममा निगमका संचालक समितिका अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि यसअघि पोखराका विमानस्थलका लागि आवश्यक हवाई इन्धन भण्डारण डिपो थिएन। यसअघि विमानस्थल परिसरभित्र डिपो नहुदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ। अब भने यो हवाई इन्धन भण्डारण निर्माणपछि उक्त झन्झटबाट मुक्त हुने निगमले जनाएको छ।

३६ सय किलोलिटर अर्थात् ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरू निर्माण गरिने योजना रहेको निगमले जनाएको छ। जसमा १२०० किलोलिटर अर्थात १२ लाख लिटरका तीन वटा ट्यांक निर्माण हुने छन् ।

७७ करोड २९ लाख रूपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन्। उक्त निर्माण कम्पनीले काम सुरू भएको करिब १ वर्षमा डिपो निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको निगमले जनाएको छ।

निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा हवाई इन्धन डिपो छ।

मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौं वटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरेपनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन ।