सुनकाण्डमा मेराे संलग्नता छैन: दीपक मल्होत्रा


काठमाडौँ । व्यापारी दीपक मल्होत्राले पक्राउ परेको सुनमा कुनै पनि संलग्नता नभएको बताएका छन् । मल्होत्राले पत्रकार सम्मेलन गर्दै साउन ४ गते बिहीबार ुनयाँ पत्रिकाु मा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी समाचारमा तस्वीरसहित संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक तथ्यविनाको प्रसंग उल्लेख गरिएको बताए ।

समाचारमा लेखिएजस्तो यो विषयमा कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा भएका विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको उनले बताए ।

मल्होत्राको भनाइ

मेरो छोटो समयको अनुरोधमा उपस्थित हुनुभएकोमा यहाँहरूप्रति आभारसाथै धन्यवादज्ञापन गर्न चाहन्छु। आज मिति २०८० साउन ४ गतेको राष्ट्रियस्तरको दैनिक पत्रिका नयाँ पत्रिकामा ुभन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामदु शीर्षक समाचारमा मेरो तस्बिरसहित उक्त कार्यमा मेरो संलग्नता रहेको भन्ने शीर्ष समाचार प्रकाशित भएको यहाँहरूले अध्ययन गर्नुभयो होला।

उक्त समाचार सम्बद्ध विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषय सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको बेहोरा जानकारी गराउँदछु।

म र मेरो परिवारका सबै सदस्यको व्यावसायिक कारोबार नेपाल कानुनबमोजिम संस्थापना भएका निकायमार्फत हुने गरेको छ। मैले गर्ने सबै कारोबार संगठित संस्थामार्फत हुने भएकाले प्रचलित कानुनबमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वर्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेस भई जानकारी हुने गर्छ।

म र मेरो परिवारले व्यक्तिगत तथा प्रत्यक्ष एवं परोक्ष अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी कुनै कारोबार गर्ने गरेको छैन। म र मेरो परिवारको कारोबा, आय सबै कानुनबमोजिम अभिलेखबद्ध, पारदर्शी भई कानुनबमोजिम पेस हुने विवरण राज्यको पूर्णजानकारीका विषय हुन्।

नयाँ पत्रिकामा प्रकाशित समाचारमा सुन आयात गर्ने कार्यमा मेरो संलग्नता रहेको भन्ने सन्देश दिन खोजिएको छ। उक्त बमोजिमको धातु आयात गर्न म सम्बद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट, कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन। साथै उक्त वस्तु आयातमा म, मेरो परिवार, मसम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँग सम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाममा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यावसायिक निकायको कुनै संलग्नता छैन।

पत्रिकामा नाम उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसँग मेरो चिनजान र कुनै कारोबार र सम्बन्ध छैन। विदेशबाट पठाएको भनिएको वस्तु आयात गर्ने, उक्त वस्तु भन्सार जाँचपास गराउने र वस्तु जिम्मा लिने कुनै पनि चरणमा मेरो संलग्नता छैन। यस अवस्थामा राष्ट्रियस्तरको दैनिक पत्रिकाले शीर्ष समाचारमा मेरो तस्बिरसहित मेरो संलग्नता भएको भन्ने बेहोरा उल्लेख गरिएको छ।

उक्त समाचारको स्रोतका रूपमा अनुसन्धानमा संलग्न अधिकारीको भनाइलाई हवाला दिइएको छ। कुन तथ्य वा आधारमा उपरोक्त अवस्था देखिएको हो र कुन अनुसन्धान अधिकारीको जानकारीका आधारमा उक्त बेहोरा उल्लेख र प्रकाशन गरिएको हो समाचारमा खुलेको छैन। यस बेहोराले सम्वाददाताले अनुमान र शंकाका आधारमा मेरो नाममा सर्वसाधारणलाई भ्रामक समाचार दिने र अनुसन्धानलाई प्रभावित गर्ने नियत उल्लेख गरिएको प्रष्ट हुन्छ।

समाचारपत्रको अन्त्यमा मलाई सम्पर्क गर्न खोजिएको र सम्पर्क हुन नसकेको भन्ने आधारमा मेरो नाम उल्लेख छ। राष्ट्रियरूपमा सञ्जाल भएको पत्रिकाले समाचारलाई तथ्यपरक र वस्तुनिष्ठ बनाउन हरसम्भव विधिद्वारा सम्बद्ध पक्षलाई बुझ्नुपर्ने हुन्छ।

म नेपालमा बसोबास भएको व्यक्ति हुँ। काम विशेषले कहिलेकाहीँ विदेश जानुपर्ने अवस्थामा बाहेक म सदैव नेपालमा रहने हुँदा मसँग सम्पर्क नहुने अवस्था हुँदैन।

धुलोमा मिलाउने (धुलिसात पर्ने) गरी गैरकानुनी कार्यमा संलग्नता भएको राष्ट्रिय समाचारमाध्यममा प्रकाशित गरिनु कदापि क्षम्य र सहनयोग्य कार्य मानिँदैन।

एक नागरिकले समाजमा वर्षौंको लगानी, निष्ठा, कर्तव्यपरायणता, कानुन पालनालगायत क्रियाकलापद्वारा आफ्नो पहिचान र प्रतिष्ठा आर्जन गरेको हुन्छ।

व्यक्तिको ख्याति एवं प्रतिष्ठा उसको सबै सम्पत्तिभन्दा महत्वपूर्ण आर्जन हो। व्यक्तिलाई समाजमा सम्मान र विश्वास निजको ख्याति एवं प्रतिष्ठाका आधामा गरिन्छ। मैले धेरै लामो समयदेखि कानुनसम्मत व्यापार(व्यवसाय गरी आफ्नो निष्ठापूर्ण व्यावसायिक पहिचान बनाएको छु।

एक सामान्य नागरिकसरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ। यस पृष्ठभूमिमा मलाई एकपटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानुनी क्रियाकलापमा मेरो तस्बिरसहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लगाउने मेरो स्वाभिमान र अन्तस्करणमा गम्भीर चोट पुऱ्याउने र मर्माहत गर्ने कार्य भएको छ।

म यसै विज्ञप्तिमार्फत सम्वादातालाई सोहीबमोजिमको सहभागिता उल्लेख गरी अन्य कसैले समाचार प्रकाशन गरेमा कस्तो हुन्छ विचार गर्न र सोको अनुभूति गर्न अनुरोध गर्दछु। अन्यलाई आक्षेप लगाउन, मर्माहत गर्न र प्रतिष्ठालाई धुलिसात गराउने कार्य किमार्थ पनि नैतिकतापूर्ण र व्यावसायिक आचरणभित्र पर्दैन।

व्यावसायिक मूल्य मान्यता, आचरणको सीमा नाघी बलगाम सम्वाददातालाई एक नागरिकले आफ्नो तर्फबाट खेद प्रकट गर्नु मेरो कर्तव्य ठान्दछु। सत्य र वस्तुनिष्ठ समाचार प्रकाशित गर्ने उपस्थित पत्रकारसमक्ष प्रस्तुत प्रेस विज्ञप्ति जारी गर्ने मेरो नैतिकतापूर्ण साहसले नै मेरो निर्दोषिता परिपुष्टि गर्ने मैले विश्वास लिएको छु।

पत्रकारले चलाउने कलम अत्यन्त गम्भीर विषय हो। समाचारमाध्यमबाट समाज र सर्वसाधारण नागरिकले सत्य र वस्तुनिष्ठ समाचारको अपेक्षा गरेका हुन्छ। पत्रकारको कलमले सत्यलाई छायामा पार्ने र आधारहीन र असत्य बेहोरालाई प्रतीकलायक हुने गरी प्रकाशन गरिए पत्रकारले समाज, राष्ट्रप्रतिको कर्तव्यघात र आफ्नै व्यावसायिक मर्यादाविपरीत कार्य गरेको मानिन्छ।

त्यसमा पनि व्यक्तिलाई गैरकानुनी कार्यमा संलग्न भएको बिनाआधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यावसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय कार्य हो। सो समाचार सम्बन्धमा खण्डन गर्ने मर्यादित मार्ग अपनाउने र सोलाई सम्बद्ध समाचार माध्यमले उपयुक्त स्थान नदिएमा कानुनी उपचार खोजी गर्ने यहाँहरूलाई जानकारी गराउँदछु।