बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम भए पनि कर्जाको प्रवाह संकुचन भएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको कारण बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सकेका छैनन् । अर्थतन्त्रमा माग नै सिर्जना हुन नसक्दा र निजी क्षेत्रले जोखिम मोल्न नसक्दा कर्जा प्रवाह ठप्प भएको हो भने सँगसँगै बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको पनि स्थिति बढ्दो अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएको समयमा आँखा चिम्लेर दीर्घकालीन कर्जामा लगानी गरेपछि त्यस्तो कर्जाको साँवाब्याज असुलीमै समस्या परेको हो ।
नेपाल राष्ट्र बैंकको चैतसम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थाको खराब ३.३४ प्रतिशत रहेको देखाउँछ । अर्थतन्त्र चलायमान हुनको लागि निजी क्षेत्रमा कर्जा प्रवाह बढ्नु पर्ने हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० को १० महिनामा १३.४ प्रतिशतले बढेको निजी क्षेत्रमा कर्जा प्रवाह यो चालु आर्थिक वर्षको अवधिमा ३.३ प्रतिशतले मात्र बढेको छ ।
चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कर्जा प्रवाह २ अर्ब ३० करोड रूपैयाँले घटेको थियो । भदौमा यस्तो कर्जा प्रवाह २६ अर्ब ४० करोड रूपैयाँ, असोजमा भने ६१ अर्ब ४० करोड रूपैयाँ मात्र रह्यो ।
यस्तै कार्तिकमा ९ अर्ब ४० करोड रूपैयाँ, मंसिरमा ४ अर्ब ७० करोड रूपैयाँ, पुषमा ६४ अर्ब रूपैयाँ, माघमा १० अर्ब ८ करोड रूपैयाँले कर्जा प्रवाह हुँदा फागुन १९ अर्ब ९० करोड रूपैयाँले कर्जा प्रवाह घटेको थियो ।
यसैगरी चैतमा ३३ अर्ब ८० करोड रूपैयाँले कर्जा प्रवाह बढ्दा वैशाखमा भने ८ अर्ब ८० करोड रूपैयाँले निजी क्षेत्रमा प्रवाह हुने कर्जा घटेको छ ।
यतिबेला बैंक तथा वित्तीय संस्थाले व्यवस्थापन गर्न नसक्दा पैसा बैंकमा नै थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थामा ३ खर्ब रूपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।
गुण्स्तरीय सेवाले सेवाग्राहीको मन जित्ने हो
हामीले २० वर्षसम्मको घर कर्जा पनि दिने गरेका छौँ । जलविद्युत, पूर्वाधारमा पनि हामी ले १० देखि १५ वर्षसम्मको लगानी गरेको छौँ । होटल, सिमेन्ट उद्योग स्टिल उद्योगमा लामो अवधिको ऋण बुक भइरहेको छ । अहिले ब्याजदरले असर नगर्ने कारण भनेको राष्ट्र बैंकको नियमले ब्याजदर तलमाथि बनाउन पाइँदैन । पहिला जस्तो एउटा बैंकले नै कति कति दिने भनेर तोक्न सक्थ्यो । अहिले एउटा प्रोडक्टमा एउटा ब्याजदरभन्दा परिवर्तन गर्न सकिँदैन ।
नेपाल बैंकर्स संघले निर्णय गरेपछि त्यहाँभन्दा तलमाथि गर्न सकिँदैन । बजारमा उत्पादन उही छ, मूल्य त्यही, प्रक्रिया पनि त्यही भएपछि सेवाग्राहीलाई दिने सेवाबाट हामीले मन जित्ने हो । बैंकले सेवाग्राहीलाई आफ्नो ठान्नु पर्छ । गुणस्तरीय सेवाले पनि सेवाग्राही बढ्दै जाने हो नबिल बैंकले त्यहि अनुसार काम गर्दैछ ।
एकथरी व्यावसायीहरूले कर्जाको ब्याजदर घटाउनको लागि आन्दोलनसँगै अर्काथरीले ऋण नै नतिर्ने भन्दै विभिन्न आन्दोलन गर्दै आइरहेका छन् । जसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरूले अहिले लगानी नगरेर तरलता भइरहेको अवस्थामा कर्जा निक्षेप अवधिको खाडल देखिएको अवस्थामा छैन तर दीर्घकालीन लगानीमा भने यसले असर गर्ने बैंकरहरूले बताउने गरेका छन् ।
कर्जा निक्षेप अवधिको खाडल
बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो निक्षेपको अनुपात बढाउनका लागि अल्पकालीन मुद्दतिलाई जोड दिने तर त्यसरी संकलित रकम दीर्घकालीन कर्जामा उपयोग गर्न थालेका छन् । तत्कालका लागि यसरी दीर्घकालीन योजनाका लागि कर्जा प्रवाह गर्दा अल्पकालीन निक्षेपका लागि होडबाजी गर्ने प्रवृत्तिले जोखिम बढ्ने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
अल्पकालीन निक्षेपले तत्कालका लागि बैंकको लगानीयोग्य कोष त बढाउँछ । त्यो रकम दीर्घकालीन लगानीमा जाँदा बेलाबेलामा तरलताको संकट नै देखिने गरेको छ, कारण बैंकमा तत्कालका लागि लगानीयोग्य पुँजी हुँदैन । दीर्घकालीन लगानी तत्काल नफर्किने भएकाले यस्तो समस्या देखिएको हो ।
बैंक तथा वित्तीय संस्थामा छोटो अवधिको लागि निक्षेप कम हुँदा समस्या पर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले न्यूनतम ६ महिनादेखि १२ महिनासम्मको लागि सबैभन्दा बढी निक्षेपमा राख्ने गरेका छन् ।
२०७९ चैत महिनामा १० खर्ब १२ अर्ब ५९ करोड ६६ लाख २० हजार रूपैयाँ ६ महिनादेखि १ वर्षसम्मको लागि राखिएको छ । यो कुल मुद्दती निक्षेपको ३६.५० प्रतिशत हो । २०७६ चैतमा ६ महिनादेखि १ वर्षसम्मको लागि मुद्दती निक्षेप २५.६४ प्रतिशत थियो भने १ देखि २ वर्षको मुद्दती निक्षेप ३९.९५ प्रतिशत थियो ।
राष्ट्र बैंकको तथ्यांकले २०७९ चैतसम्मको तथ्यांकले ३ देखि ६ महिनाको अवधिको लागि २३.०४ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म ३६ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म १६.०३ प्रतिशत र २ वर्षभन्दा बढी २४.४३ प्रतिशत मुद्दती निक्षेप रहेको तथ्यांकले देखाउँछ ।
यो तथ्यांक २०७६ चैतमा ३ देखि ६ महिनासम्म १८.४१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म २५.६४ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ३९.९५ प्रतिशत र २ वर्षभन्दा बढीको निक्षेप १५.९९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको यो तथ्यांकले पनि ३ देखि ६ महिना र ६ महिनादेखि १ वर्षसम्म निक्षेप बढेको र १ देखि २ वर्षसम्मको मुद्दती निक्षेपको अवधि घटेको देखाउँछ भने २ वर्षभन्दा बढीको निक्षेप पनि बढेको देखाउँछ ।
राष्ट्र बैंकले २०७६/७७ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा अस्थिर बचत हुने कल निक्षेपमा कडाइ गरेको छ । वाणिज्य बैंकहरूले कुल निक्षेपको १० प्रतिशत मात्र कल निक्षेप गर्न पाउने छन् । पहिलो यसको हिस्सा २५ प्रतिशतसम्म थियो ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे मुद्दती खातामा राखेको निक्षेप हरेक पटक नवीकरण हुँदै जाने गरेको कारण समस्या नहुने बताउँछन् ।
मुद्दती दीर्घकालीन कर्जा प्रवाहका लागि बलियो स्रोत
कल निक्षेपलाई अस्थिर प्रकृतिको मानिन्छ भने मुद्दति दीर्घकालीन कर्जा प्रवाहका लागि बलियो स्रोत मानिन्छ तर यहि निक्षेप छोटो अवधिका लागि लिइएमा नवीकरण गर्नुपर्ने दबाब रहन्छ । बैंकहरूबिच एकले अर्काको निक्षेप तान्ने प्रवृति हाबी हुन्छ । नेपाली बैंकहरूको निक्षेपमा चल्ती र बचतको अंश घट्दै गइरहेको देखिन्छ ।
“नेपालमा बचत खाता नै मुद्दती जस्तो छ । बचतमा राखिसकेपछि लामो समयसम्म रहिरहन्छ । निक्षेप र कर्जा बिचको अन्तर बैंकहरूले सँधै विश्लेषण गरिरहेका हुन्छन् । हरेक बैंकले लामो समयको दायित्व कति छ त्यसलाई मिल्दो रूपमा हेरेर दीर्घकालको सम्पति व्यवस्थापन गरेर कर्जा प्रवाह गर्छ,” उनले भने । यद्यपि बैंकिङ क्षेत्रका जानकारहरू भने निक्षेपकर्ताले नवीकरण गर्ने समयमा बैंकहरूको अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बताउँछन् । विशेषतः तरलतामा समस्या देखिएपछि धेरै ब्याज दिएर बैंकहरूले अस्वस्थ प्रतिस्पर्धा गर्दै आएका छन् ।
“कर्जा निक्षेपको अवधिको खाडलले असर गर्छ । लामो समयको लागि गरेको लगानी फर्कने समय भएको छैन । निक्षेपको अवधि समाप्त हुने भयो । निक्षेपको अवधि समाप्त भएपछि निक्षेपकर्तालाई फर्काउनुपर्छ,” एक पूर्वबैंकरले भने, “यसको कारण बैंकहरूबिच ब्याजदर बढी दिन्छु भनेर निक्षेप तान्ने अनावश्यक प्रतिस्पर्धा हावी हुन्छ ।”
उनका अनुसार यसबाहेक यसरी अल्पकालिक निक्षेपबाट संकलित पुँजी जथाभावी लगानी गर्दा फण्ड गएर दीर्घकालमा बसिसकेपछि तरल सम्पत्ति कम हुन्छ । परिणामतः निक्षेप कम आउने र कर्जा बढी जाँदा समय समयमा तरलता अभाव सिर्जना हुने गरेको छ ।
अधिकांशले नवीकरण गर्छन्
सैद्धान्तिक रूपमा हेर्ने हो भने बैंकहरूले कर्जा प्रवाह गरिसकेको र निक्षेपको अवधि सकिसकेपछि निक्षेपकर्ताले निक्षेप गर्न मानेनन् भने बैंकहरूलाई तरलतामा कसिलो हुने हो तर यस्तो हुने सम्भावना हुन्छ भन्ने मलाई लाग्दैन । अवधि सकिएपछि अरू अरू कामको लागि प्रयोग गर्लान् तर अधिकांश मान्छेहरूले नवीकरण गर्ने गर्छन् । नवीकरण नगर्ने भन्ने हाम्रो अनुसन्धानमा देखिएको छैन । हरेक महिना हरेक वर्ष निक्षेप घट्दै गयो भने समस्या देखिने हो । निक्षेप पनि घटेको छैन ।
बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जा अवधिको खाडल पुर्नको लागि ऋणपत्र जारी गर्ने गरेका छन् । जसले बैंक तथा वित्तीय संस्थालाई पुँजी संकलनको लागि केही सहज बनाएको देखिन्छ । “दीर्घकालीन लगानी जुटाउनको बैंकहरूले ऋणपत्र जारी गर्ने गरेका छन्, निक्षेपकर्ताले लामो समयको मुद्दती निक्षेप नराख्ने भएका कारण बैंकहरूले दीर्घकालीन स्रोतका लागि ऋणपत्र जारी गर्ने गरेका छन्,” नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा भन्छन् ।
निक्षेप थोरै लगानी धेरै भएका कारण यसलाई मिलाउनको लागि राष्ट्र बैंकले ऋणपत्र जारी गर्न पाउने व्यवस्था ल्याएको शर्माको भनाइ छ । उनले थपे,“राष्ट्र बैंकले ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले ५ वर्ष, ७ वर्ष, १० वर्ष सुरक्षित पैसा राख्न खोजेको हो । सबै त नहोला यसले केही प्रतिशत यसले सन्तुलन गर्छ । केही बैंकहरूले आफ्नो पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी पनि गरे ।”
पूर्वबैंकर भुवन दाहाल संस्थागत निक्षेप लिएका बैंकहरूलाई समस्या पर्न सक्ने बताउँछन् । “बैंकहरूले १५ वर्ष, २० वर्ष अवधिको पनि कर्जा पनि दिइरहेका छन् तर त्यसमा जोखिम किन हुँदैन भने बचत मुद्दतीमा जाने हुन्छ,” उनले भने, “शीर्षक मात्र परिवर्तन हुने भएकोले ठुलो जोखिम हुँदैन तर संस्थागत निक्षेप धेरै लिएका बैंकहरूलाई ठुलो जोखिम देखिन्छ ।”
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल पनि छोटो अवधिको लागि मुद्दती निक्षेप राखेर फरक नपर्ने बताउँछन् । उनले भने,“छोटो अवधिको लागि मुद्दती निक्षेपमा राखेर फरक पर्दैन । त्यसलाई नवीकरण गर्न सक्छन् । छोटो समयको लागि राख्दा भोलिका दिनमा आवश्यक परिहाल्यो भने निकाल्न सजिलो होस् भनेर राख्ने हो ।”
यद्यपि बैंक तथा वित्तीय संस्था परिसंघले २०७८ मा गरेको अध्ययनले मुद्दती निक्षेप बढिरहेको भए पनि २ बर्षभन्दा कम अवधीको निक्षेपको अंश करिव ९० प्रतिशत रहेकाले हरेक बर्ष वा त्योभन्दा कम अवधीको समयमा बाणिज्य बैंकहरूलाई निक्षेप नवीकरण गर्नुपर्ने दबाबले तरलता तथा ब्याजदरलाई प्रभावित पारिरहेको देखिएको उल्लेख गरेको थियो ।
समस्याको कारण ब्याजदर
निक्षेपकर्ताले दीर्घकालको लागि निक्षेप नराख्नुको मुख्य कारण नै ब्याजदर बनेको छ । लामो समयसम्म मुद्दती राखे पनि र छोटो समयको लागि निक्षेप राखे पनि एउटै ब्याजदर छ । ब्याजदर एकै भएपछि निक्षेपकर्ताले पनि छोटो समयको लागि राख्ने गरेका हुन् । मुद्दती र बचतको ब्याजदरको अन्तर भएका कारण पनि छोटो समयको लागि मुद्दती निक्षेपमा राख्ने गरेका छन् ।
पूर्वबैंकर दाहालले दीर्घकालीन र छोटो समयको लागि ब्याजदर एउटै भएपछि किन दीर्घकालको लागि निक्षेप राख्ने भन्ने प्रश्न आउन सक्ने बताउँछन् । उनले भने,“तीन महिनाको लागि पनि ब्याजदर त्यही छ १० वर्षको लागि पनि ब्याजदर त्यही छ । बढ्छ भन्ने लाग्यो भने ३ महिनाको राख्ने भयो घट्छ भन्ने लाग्यो भने दीर्घकालको लागि राख्छन् ।”
उनका अनुसार वर्षभन्दा कम अवधिको निक्षेपमा कम ब्याजदर, १ वर्षदेखि २ वर्ष २ वर्षदेखि ३ वर्ष चरणबद्ध रूपमा ब्याजदर प्रदान गर्दा निक्षेपकर्ताहरू आकर्षित हुनसक्छन् । बैंक तथा वित्तीय संस्थाले छोटो अवधि र दीर्घकालको लागि एउटै ब्याजदर प्रकाशित गर्ने कारण पनि निक्षेपकर्ताले दीर्घकालको लागि राख्न नखोजेका हुन् ।
नेपाल बैंकर्स संघका निर्देशक शर्माले ब्याजदर एउटै भएका कारण निक्षेपकर्ता आकर्षित नभएको बताए । “हामीले ३ महिना, २ वर्ष, १० वर्षको लागि जति राख्दा पनि एउटै दर छ । त्यो तल माथि नभएपछि मान्छेले किन राख्छ ? त्यो बढिहाल्छ कि भोलि के हुन्छ ? कसो हुन्छ भनेर लामो समयको लागि राख्न खोज्दैनन्,” उनले भने, “साधारणतया बाहिरको २ देखि ५ वर्षसम्मको अलिअलि छ भने त्योभन्दा धेरै मुद्दती राख्ने त्यति चलन छैन । हाम्रोमा २ वर्षबाट ५ वर्षसम्म जान पनि गाह्रो छ ।”
संस्थागत निक्षेप कम छ भने डराउनु पर्दैन
जसको संस्थागत निक्षेप बढी छ त्यसमा धेरै नै अस्थिर हुन्छ । व्यक्तिगत निक्षेप भयो भने छोटो समयको लागि नै भयो भने बचतको मुद्दतीमा जाने मुद्दतीको बचतमा जाने हुन्छ । त्यसकारण डराउनु पर्दैन । चल्ती खाता अलि अस्थिर हुन्छ । बचत खाता खासै अस्थिर हुँदैन । बचतबाट मुद्दतीमा जान्छ मुद्दतीबाट बचतमा जान्छ । बचत त जहिले पनि दिन सकिन्छ ।
(टक्सार म्यागजिन, २०८० असार अङ्क , पृष्ठ १० देखि १२ सम्म)
प्रतिक्रिया दिनुहोस्