प्रहरीका मोटरसाइल/स्कुटरमा अनिवार्य ‘डबल हेल्मेट’ कार्यान्वयमा


काठमाडौं । नेपाल प्रहरीका सबै मोटरसाइकल तथा स्कुटर चालकले पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउने प्रावधान कार्यान्वयनमा ल्याएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीका अनुसार यातायात व्यवस्था ऐन-२०४९ लाई कार्यान्वयनमा लैजाने क्रममा अहिलेलाई प्रहरीका सबै संयन्त्रमा अनिवार्य रुपमा ‘डबल हेल्मेट’ कार्यान्वयनमा ल्याइएको हो ।

“कम्तिमा प्रहरी आफैले ड्युटीमा जाँदा होस् वा व्यक्तिगत प्रयोजनमा ‘डबल हेल्मेट’ लगाउन थाले यसले आममानिसको व्यवहार परिवर्तनमा योगदान दिनेछ,” नासा फाउन्डेसनद्वारा दुई पाङ्ग्रे सवारी साधनको सवारी सुरक्षासम्बन्धि अन्तर्क्रिया कार्यक्रममा चौधरी‌ले भनिन् ।

अतिरिक्त महानिरीक्षक चौधरीका अनुसार प्रहरी प्रधान कार्यालयले देशैभरिका प्रहरी कार्यालय र युनिटहरूलाई परिपत्र गरेर ‘डबल हेल्मेट’को व्यवस्थालाई कार्यान्वयनमा ल्याइसकिएको छ ।

नेपाल प्रहरीका ७७ हजार, नेपाली सेनाका ८६ हजार, सशस्त्र प्रहरी बलका ३५ हजार ५ सय, निजामती कर्मचारी ९६ सहितका करिब ३ लाख सरकारी सेवामा रहेका व्यक्तिहरूबाट मात्रै भए पनि अहिलेका लागि ‘डबल हेल्मेट’को व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा सडक सुरक्षामा ठूलो योगदान पुग्ने चौधरीको भनाइ थियो ।

प्रहरीसँगै नेपालस्थित संयुक्त राष्ट्र संघीय निकायअन्तर्गतका कार्यालयहरूमा पछाडि बस्ने यात्रुले पनि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याएको कार्यक्रममा जानकारी दिइयो ।

राइड सेयरिङ कम्पनी पठाओ नेपालका निर्देशक सशांकशमसेर थापाले पठाओका चालक (राइडर)हरूमाझ पछाडि बस्ने यात्रुका लागि पनि हेल्मेटको व्यवस्था गर्न सकिने भए पनि यसको कार्यान्वयन पक्षमा रहेका अन्य व्यवहारिक समस्या सम्बोधन गरिनु पर्नेमा जोड दिए ।

सडक सुरक्षा विज्ञ डा. भगवती सेढाईले सडक दुर्घटनामा परि ज्यान गुमाउने, घाइते हुनेहरूमध्ये मोटरसाइकल चालक अत्यधिक रहेको भन्दै सडक सुरक्षाका लागि कानुनी रुपमा प्रबन्ध भइसकेको पछाडि बस्ने यात्रुका लागि पनि हेल्मेट अनिवार्य गर्न अपरिहार्य रहेको तथ्य औंल्याइन ।