नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल, नयाँ बोर्ड गठन


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

मञ्चको काठमाडौंमा भएको वार्षिक साधारण सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढिकरणमा उद्यमीहरुको महत्वपूर्ण भूमिमा रहेको बताए । स्थापित युवा उद्यमीहरुलाई उद्यम बन्ने नविनतम् सोंच राखेका युवाहरुसँग सहकार्य गर्दै अगाडि बढाउन आग्रह पनि गरे । मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको बताउँदै उनले अर्थतन्त्र सुधारका पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको उल्लेख गरे ।

नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोंच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवाहरुलाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताए । उनले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गरे ।

यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहनको आवश्यकता रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए ।
परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रबद्र्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताए । उनले राज्यले नवप्रबर्तन, युवा उद्यमीहरुलाई सहजिकरण गरिदिने हो भने देशमा केही गरौं भनेर लागेका युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्ने उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष अनुराग गोयल गोयल गु्रपका प्रबन्ध निर्देशक रहेका छन् । उनी उत्पादनमुलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युतलगायतका क्षेत्रमा संलग्न छन् । गोयलले भारतस्थित सिम्बायोसिस इन्टरनेशनल यूनिभरसिटीबाट फाइनान्समा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

गोयलको कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ –मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), सकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्न (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन् ।

स्टार्ट–अप र युवाहरुलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।