समयमा पानी नपर्दा गतवर्ष भन्दा १३ प्रतिशत कम रोपाइ


काठमाडौँ । समयमा प्रयााप्त वर्षा नहुदा वर्षायाम सकिन लाग्दासमेत देशभरका अधिकांश प्रदेशमा धान रोपाइ प्रभावित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १२ गतेसम्म रोपाइ हुने जमिनको ७७ प्रतिशत जमिनमा मात्र रोपाइ सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार गतवर्ष यस अवधीमा ९० प्रतिशत रोपाइ सम्पन्न भएको थियो ।

मन्त्रालयको तथ्याकं अनुसार यस अवधीमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि ९९ प्रतिशत अर्थात १ लाख ६९ हजार ७६१ हेक्टर जमिनमा रोपाइ सम्पन्न भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा ५९ प्रतिशत अर्थात २ लाख ९ हजार ८६ हेक्टर जमिनमा मात्र रोपाइ सम्पन्न भएको छ ।

देशभर १३ लाख ५७ हजार ८१६ हेक्टर जमिनमा वर्षायाममा धान खेती हुने सरकारको तथ्याकं छ ।

एकातिर समयमा पानी नपर्दा प्रयाप्त जमिनमा धान रोपाइ हुन सकेकाे छैन्, अर्काेतिर भारतले खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रण ल्याउने बाहनामा बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएपछि नेपालमा खाद्य असुरक्षाको जोखिम बढ्ने देखिन्छ ।